काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।
'सन्निकट होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु/नगराउनुहुन आम दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ', गृह मन्त्रालयका सह प्रवक्ता केदारनाथ शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
देशको सीमा नाका र अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्वतयारीलगायत यसको रोकथामका लागि गरिने विविध गतिविधिहरू नेपाल सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको विज्ञप्तिमा भनिएको छ।
उसले कोभिड-१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अपिल गरेको छ।
'आम नागरिकको समन्वय, सहयोग, संलग्नतामा कोभिड-१९ को संक्रमणलाई नेपाल प्रवेशमा रोकथाम गर्न सकिन्छ र नेपाल सरकार यसको रोकथामका लागि हरेक उपायको अवलम्बन गर्न प्रतिबद्ध रहेको छ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।