धनगढी- धनगढी उपमहानगरपालिकाले गरेको निर्णय एक दिनमै उल्टिएको छ। नगरपालिकाका मेयर नृपबहादुर वडले शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढीमा आइतबारदेखि विद्यालय बिदा दिन निर्देशन दिएका थिए।
कोभिड-१९ (कोरोना भाइरस)को त्रास बढेको भन्दै सुरक्षित रहन उनले बिदा दिएको विज्ञप्तिमा जनाएका थिए।
तर, उक्त निर्णय शनिबार नै फेरिएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले नगरपालिकाले विद्यालय बन्द नगर्न आग्रह गरेको हो। नगरपालिकाले सबै विद्यालयहरुलाई समयमा नै परीक्षा सुरु गर्न समेत निर्देशन दिएको छ।
उपमहानगरपालिकामा शनिबार बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्रअनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो।
सङ्घीय सरकारले यसअघि नै चैत ५गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो। धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले सङ्घीय सरकारको परिपत्रअनुसार नै परीक्षा हुने बताए।
‘कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ‚’ उनले भने, ‘त्यहीअनुसार शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराइएको छ।’
धनगढी उपमहानगरपालिकाले आइतबारबाट विद्यालय बिदा दिने निर्णय गरे पनि कैलाली जिल्लाका अन्य १२ वटा स्थानीय तहले भने सङ्घीय सरकारको निर्णयअनुसार नै परीक्षा सञ्चालन गर्ने भन्दै तयारीमा जुटेका थिए। धनगढी उपमहानगरपालिकाभित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।