काठमाडौं- निजी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५४ औं साधारण सभा तोकिएकै समयमा गर्ने वा नगर्ने विषयलाई पर्ख र हेरको बाटो अपनाउने भएको छ।
अहिलेसम्म नेपालमा कारोना भाइरसको संक्रमण नदेखिएको कारण साधारण सभाको लागि तोकिएको मिति सार्ने विषयमा छलफल नभएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
महासंघको कार्यसमितिको फागुन ११ गते बसेको बैठकले नेतृत्व समेत चयन गर्ने साधारण सभाको मिति चैत २८ र २९ गते तोकेको थियो। तर, सबैजस्तो राजनीतिक दल र संघ संस्थाले तय गरेको कार्यक्रम नगर्ने निर्णय गरिरहेको बेला महासंघले पनि २/३ दिनपछिमात्रै यो विषयमा छलफल गर्ने तयारी गरेको छ।
‘अहिलेसम्म सबै व्यवसायीहरुले चैत २८ र २९ गते महासंघको साधारण सभा हुने गरी सूचना भएको छ,’ अध्यक्ष राणाले भनिन्।
महासंघको निर्वाचन नजिकिँदै गर्दा व्यवसायीहरुमा चुनावी सरगर्मी समेत तातेको छ। उमेद्वारहरुले भेटघाट र भ्रमणलाई पनि तीव्रता दिइरहेका छन्। महासंघको निर्वाचनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् भने अरु पदाधिकारी र केन्द्रीय सदस्यहरु साधारण सभाबाट नै निर्वाचित हुनेछन्।
महासंघको निर्वाचनामा पनि दुई टिम बनाएर उमेद्वारी घोषण भइसकेको छ। वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उमेद्वारी घोषण गरिसकेका छन्। प्रधानको टिमबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उमेद्वारी घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।