काठमाडौं– कोरोना भाइरसको त्रासका कारण क्याटरिङ्ग तथा पार्टी प्यालेसको कारोबार घटेको छ।
बिहे,उत्सव, लगायतका पार्टी तथा भोजभतेरमा करिब ५० प्रतिशत कमी आएको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले बताएका छन्।
‘पार्टी/भोजका लागि अहिले नयाँ बुकिङ आएको छैन। चैतका लागि एउटा बुकिङ थियो त्यो पनि रद्ध भयो’ बालकुमारीस्थित मण्डला हाउस पार्टी प्यालेसका सञ्चालक चन्द्र महर्जनले सुनाए।
चैतको बुकिङ कोरोना भाइरसको संक्रमणकै कारण रद्ध गरिएको प्यालेसका सञ्चालक महर्जनले बताए।
‘काम ठप्प हुन लागिसक्यो । नयाँ बुकिङ आएको छैन। भाडा मासिक २ लाख छ कसरी तिर्ने भन्ने चिन्ता पो हुन थाल्यो’ महर्जनले नेपाल लाईभसँग भने ।
पाटन ढोकास्थित अशोक पार्टी प्यालेसले पनि कोरोना प्रभावका कारण आफ्नो कारोबार घटेको जनाएको छ।
प्यालेसका सञ्चालक भन्छन्, ‘यो त सिजनको बेला हो नि तर काम आधा घटिसक्यो ।’
पहिले नै बुकिङ भइसकेका भोज/भतेरहरु भइरहेको तर नयाँ बुकिङ नआएको प्यालेसले जनाएको छ। सामान्य अवस्थामा वैशाखसम्मको बुकिङ फागुन महिनामै आउनु पर्नेमा यो वर्ष कोरोना संक्रमणका कारण बुकिङ आएको छैन।
‘यो पिकनीकको सिजन हो। माघ, फागुन र चैतसम्म त धमाधम पिकनिकका लागि बुकिङ आउँथ्यो। केही समय अगाडिसम्म त ठिकै थियो। अहिले न पिकनिकको बुकिङ आउँछ। न बिहे न व्रतबन्ध।’ बानियाँटारस्थित आदिनाथ क्याटरिङ्गका सञ्चालक कृष्ण मगरले सुनाए।
यस्तै अवस्था हुने हो भने यो व्यवसाय चलाउन नै मुस्किल पर्ने उनको भनाइ छ।
पछिल्लो समय कोरोनाको प्रभावले पार्टी प्यालेस तथा क्याटरिङ्गहरुमा बिहे, सामूहिक भोज, ब्रतबन्ध, जन्मोत्सवलगायत कार्यक्रमको चाप घटेको छ।
कुनै बेला उत्सव तथा सामूहिक भोजका कारण खचाखच हुने कटिया हाउस पनि यतिबेला सुनसान जस्तै हुन थालेको छ।
‘कोरोना प्रभावले कटिया हाउसमा उत्सव तथा सामूहिक कार्यक्रम लगभग आधा घटिसक्यो’ कटिया हाउसका सञ्चालक मधुसुदन ढकाल सुनाउँछन्।
सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन सर्वसाधारणलाई भीडभाडमा नजान तथा भेला, सम्मेलन, मेला उत्सवसमेत नगर्न आग्रह गरको छ। योसँगै उपत्यकालगायत देशैभरिका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुको आधा कारोबार घटिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।