काठमाडौं- एसियाली विकास बैंकले कोरोना भाइरस (कोभिड १९)ले एसियाली अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्ने जनाएको छ। आन्तरिक मागमा आइरहेको गिरावट, पर्यटन क्षेत्रमा देखिएको न्यूनता र आपूर्ति व्यवस्थापनदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख प्रभाव पर्ने उसले जनाएको हो।
उसले कोरोना प्रभावित देशहरुमा हुने आर्थिक क्षति अझै यकिन नभएको पनि उल्लेख गरेको छ। एडिबीले विश्व अर्थतन्त्रमा ७७ अर्बदेखि ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्मको प्रभाव पर्न सक्ने जनाएको छ। यो रकम विश्वव्यापी कूल गार्हस्थ उत्पादनको ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म हुन्छ।
एडिबीले कोरोनाका कारण चीनले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको क्षति ब्यहोर्नुपर्ने जनाएको छ। यो रकम उसको कूल गार्हस्थ उत्पादनको ०.८ प्रतिशत हुनेछ। एडिबीले चीनबाहेक एसियाले २२ अर्ब अमेरिकी डलर बराबरको क्षति ब्यहोर्ने पनि जनाएको छ।
एडिबीका अनुसार कोभिड १९ का कारण विश्व अर्थतन्त्रमा अधिकतम ०.४ प्रतिशतसम्मको असर पर्नेछ। यसको अर्थ कोभिडको असर अझै खराब भएमा विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलर बराबरको क्षति हुनेछ।
यसको सबैभन्दा ठूलो हिस्सा चीनले ओगट्नेछ। चीनले मात्रै अधिकतम २ खर्ब ३७ अर्ब डलर बराबरको क्षति ब्यहोर्ने उसको आँकलन छ। चीनबाहेकका एसियाका विकासशील राष्ट्रहरुको क्षति ४२ अर्ब डलर बराबरको हुनेछ। बाँकी विश्वले यसबाट ६८ अर्ब अमेरिकी डलर बराबरको क्षति ब्यहोर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।