काठमाडौं- ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ।
पूर्व उपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो।
गच्छादारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेषले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्तविरुद्ध यसअघि नै म्याद जारी गरिसकेको छ। विशेषले अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।
अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।