काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले काेराेना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठककाे शून्य समय र सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन्। नेकपाका सांसद धर्मशीला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरे। उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गरे।
त्यस्तै सांसद गंगा चौधरी सत्गौवाले अब खानपानमा सुधार गर्नुपर्ने बताइन्। उनले बजारमा अनुगमन गर्नुपर्ने बताइन्। सांसद रंगमती शाहीले पनि अलग्गै अस्पताल छुट्टाउन माग गरिन्। मास्क नहुनु बजारमा खाद्यन्य अभावलगायतका तयारीका विषयमा सरकारको ध्यानाकर्षण गराइन्। उनले केन्द्र, प्रदेश र स्थानीय सरकारसम्म सम्वन्यन गर्न माग गरिन्। उनले देशभरका स्वास्थ्य चौकीमा सामान्य औषधी नभएको र डाक्टर नभएको प्रति ध्यानाकर्षण गराइन्।
सांसद नवराज सिलवालले अब नेपालले गम्भीर रुपमा भाइरसविरुद्ध तयारी गर्नुपर्ने बताए। उनले भने, 'कुनै खालको कमी कमजोरी हुनु हुँदैन, हालसम्म ६४ वटा मुलुकमा फैलिएको र इरानामा स्वास्थ्यमन्त्रीदेखि सांसदसम्म संक्रमित भएका छन्। अमेरिकाले बजेट छुट्टाएर काम थालेको छ। संसारका सबै देशले कोरना रोक्न अभियान थालिसकेका छन्। औषधीका लागि हामीले कस्तो तयारी गरेका छौं। त्यसमा ध्यान दिनु पर्दछ।'
सांसद दिलेन्द्रप्रसाद वडुले कोरना भाइरसको संक्रमणका बारेमा अहिले नै तयारी थल्न सरकारको ध्यानाकषर्षण गराए। भिजिट नेपालको काम रोकिएर ठीक भएको भन्दै उनले अझ सर्तकता अपनाउनु पर्ने बताए। 'नेपाल कुनै पनि बेलामा संक्रमणको जोखिममा छ यो विश्व स्वास्थ्य संगठनको चेतावनी मात्र हैन,’ उनले भने, ‘यसलाई रोक्न बहुराष्ट्रिय सहयोग आवश्यक छ।’
विदेशले आफ्ना नागरिकलाई उतै चेक जाँच गर्नका लागि पहल हुन सके राम्रो हुने उनले बताए। 'मास्क र औषधी अभाव हुन लागेको छ,’ उनले भने, ‘यसले झन त्रास फैलने छ। भारत र चीनसँग हाम्रो आवातजावत छ। विमानस्थमा थर्मलस्कानर बिग्रेको कुरा के हो? त्यसलाई बनाउन माग गर्दछौ। औषधीहरु समयमै व्यवस्था गरौं।’
संक्रमण रोक्न चीनले गरेकाे प्रयासबाट हामीले सिक्न जरुरी देखिएको उनले बताए। जनता त्रसित हुने अवस्था नओस् भन्दै उनले सञ्चारमाध्यबाट सूचना प्रकाशन गर्न माग गरे।
सांसद पूर्णाकुमारी सुवेदीले उच्च सर्तकता अपनाउने विषय मुख्य प्राथमिकता हुनुनर्पे माग गरिन्। उनले नाकामा क्वारेनटाइन राख्न र अस्पतालमा डाक्टर र नर्सहरुलाई पनि सुरक्षित राख्नेतर्फ ध्यानाकर्षण गराइन्। वीर, टिचिङ र पाटनजस्ता अस्पताललाई उच्च तयारीमा राख्न उनले माग गरिन्।
नीजि अस्पताल र सैनिक अस्पतालमा पनि तयारीकाे व्यवस्था गर्न उनले माग गरिन्। मनोवल उच्च राख्ने विषयमा पनि सरकारले काम गर्नुपर्ने उनकाे माग छ । उनले औषधी र मास्क लुकाउनेहरुलाई कडाभन्दा कारवाही हुनुपर्ने माग गरिन्।
छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन। चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ।
बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।