काठमाडौं- नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ्ग ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ।
आठौं पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजना तथा सिन्धु पर्यटन ब्यवसायी संघको सहयोगमा सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी दिएका छन्।
तीन दिनसम्म सञ्चालित प्रतियोगीतामा क्याप्टेन सुरज गुरुङ्ग, खेलाडीहरु सविन गुरुङ्ग, दिपेश गुरुङ्ग, शक्ति गुरुङ्ग र रविल मिया सम्मिलित फिस्लिङ ‘ए’ टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याइ कुल ९५१ अंकका साथ प्रथम भएको हो।
प्रतियोगीतामा काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहिलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंंकका साथ दोस्रो भयो। कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेश्रो भयो।
टिममा ५ खेलाडी रहने र्याफ्टिङ खेलमा प्रथम हुने नेपाल फिस्लिङ ए टिमले नगद ४० हजार दोश्रो हुने नेपाल कायक क्लबले २५ हजार तथा तेश्रो हुने प्याडल नेपाल टिमले १५ हजार रुपैयाँ पुरस्कार पाए।
यस्तै संघद्वारा आयोजना गरिएको आठौं राष्टिय कायक स्लालम प्रतियोगितामा चितवनका मोहन राना ११४.१० अंकका साथ प्रथम भए। रानाले १५ हजार रुपैयाँ पुरस्कार पाए।
दोस्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले ११९.६७ अंक प्राप्त गरेका थिए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। १२१.५२ अंकका साथ तेस्रो भएका धादिङका रञ्जन कँडेलले ५ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा ३० खेलाडी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।