काठमाडौं- मौसम राना मगर र सुष्मा तामाङ चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भएको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन्।
भक्तपुरमा भएको प्रतियोगितामा मौसम पुरुष ६० केजी तथा सुष्मा महिला ४८ केजीमा पहिलो हुँदै राष्ट्रिय प्रतियोगितालाई छनोट पनि छनोट भए। उत्कृष्ट वापत दुवैले जनही ५ हजार नगद पुरस्कार पाए। फाइनलमा मौसमले काभ्रेका सुरोज महर्जन तथा सुष्माले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरे। प्रतियोगिताको हरेक तौलसमूहमा पहिलो हुने खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने प्रावधान छ।
महिला ५१ केजीमा काठमाडौंकी मनीषा राईले सिन्धुपाल्चोककी डेनिका राईलाई हराउँदै पहिलो भइन्। महिलामै चार खेलाडीले प्रतिद्वन्द्वी नै नपाएपछि स्वतः छनोट भए। ६० केजीमा रामेछापकी डोल्मा तामाङ, ५४ केजीमा काठमाडौंका शिवानी श्रेष्ठ र ५७ केजीमा मन्दिरा पुटुवार तथा ६४ केजीमा काभ्रेकी हेमा राई स्वतः छनोट भएका हुन्।
पुरुष ४९ केजीमा मकवानपुरका अनन्त ओझाले चितवनका विमोचन लामिछाने, ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले रामेछापका अशिम डंगोल, ५६ केजीमा नुवाकोटका प्रशान्त लामाले सिन्धुपाल्चोकका शक्ति लामा, ६४ केजीमा नुवाकोटका सौरव विमलीले काठमाडौंका अश्विन श्रेष्ठ, ६९ केजीमा काभ्रेका दावा छिरिङ लामाले भक्तपुरका समन गोसाईं र ७५ केजीमा मकवानपुरका निश्चल श्रेष्ठले सिन्धुपाल्चोकका कोशिस श्रेष्ठलाई फाइनलमा हराउँदै छनोट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।