काठमाडौं–एनआईसी एसिया बैंकले एनआईसी एसिया रेमिटमार्फत् निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरि एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ।
उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ। यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल रुपमा भुक्तानी पाउन सकिनेछ। मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत् तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरैभन्दा धेरै ग्राहकहरू लाभग्राही हुने बैंकले जनाएको छ।
बैंकका मुलुकभर ३१९ शाखा कार्यालय, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ सेवा छन्। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।