काठमाडौं- ७ सय ५३ स्थानीय तहले गत आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटमध्ये जम्मा १६.१५ प्रतिशत पुँजीगत खर्च गरका छन्। स्थानीय तहहरुले आन्तरिक स्रोत, सम्बन्धित प्रदेश र संघीय सरकारबाट प्राप्त हुने रकममध्ये पुँजीगत खर्चतर्फ छुट्याएको रकमको अत्यन्तै न्यून अंशमात्रै खर्च गरेका हुन्।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको स्थानीय तहहरुको एकीकृत वित्तीय विवरणअनुसार उनीहरुले गत वर्ष ६२ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन्।
गत वर्षका लागि उनीहरुले कूल ३ खर्ब ८८ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेकामध्ये ३ खर्ब ६ अर्ब ४१ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए। विवरणअनुसार चालु खर्च २ खर्ब ४३ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ भएको छ।
स्थानीय तहहरुले संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट प्राप्त भएकोमध्ये २१ अर्ब ५० करोड ६४ लाख रुपैयाँ पुँजीगत खर्च गरका छन्। यसैगरी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणबाट प्राप्त रकममध्ये ९ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ पुजीगत खर्च गरेको विवरणमा उल्लेख छ।
त्यस्तै आन्तरिक स्रोतबाट उनीहरुले ३४ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन्। संघीय सरकारबाट अन्तरसरकारी अख्तियारी रकमबाट प्राप्तमध्येबाट ३ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ र प्रदेश सरकारबाट अन्तरसरकारी अख्तियारी रकमबाट प्राप्तमध्येबाट ६० करोड २० लाख रुपैयाँ पुँजीगत खर्च गरेको विवरणमा उल्लेख छ।
कार्यालयका अनुसार स्थानीय तहहरुको नाममा विभिन्न बैंकहरुमा ७५ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ नगद मौज्दात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।