काठमाडौं–नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रहरीले मादक पदार्थ सेवन गरेका चालकको जाँच प्रणालीमा सुधार गर्दै मुख सुँघ्न रोकेको छ। ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने गरे पनि मेसिन नभएको स्थानमा प्रहरीले चालकको मुखनजिकै गएर हा...गर्न लगाएर मापसे गरेको या नगरेको ठम्याउने गरेका थिए।
कोरोना भाइरसको जोखिम बढेपछि त्यसलाई पूर्ण रुपमा रोक्दै ब्रेथ लाइजरले मात्रै मापसे परीक्षण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्देशन दिएको छ। महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार मुख सुँघेर मापसे जाँचको प्रकृयालाई निरुत्साहित गराउँदै आएकोमा अहिले त्यसले थप जोखिम बढाएपछि ब्रेथ लाइजरबाट मात्रै मापसे जाँचका लागि निर्देशन दिइएको हो ।
‘ब्रेथलाइजरको मात्र प्रयोग गर्न पहिल्यैदेखि भन्दै आएका हौं,’ उनले भने‘ 'अब भने त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हौं।’
कति छ ब्रेथलाइजर?
महाशाखाका अनुसार सवारी चालकले मापसे गरेको छ या छैन भनेर जाँच गर्ने ब्रेथलाइजरको संख्या ७६ वटा छ। प्रहरीले साँझ काठमाडौं उपत्यकाका २६ स्थानमा र राति १० स्थानमा चेकपोस्ट राखेर मापसे जाँच गर्ने गरेको छ।
‘हामीसँग जति मेसिन छ त्यसलाई मिलाएर ड्युटी राख्छौं,’ एसएसपी ढकालले भने‘ मेसिनको अभाव नहोला, तर अब मुख सुँघेर जाँच्न भने पुरै रोकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।