काठमाडौं- प्रमुख विपक्षी नेपाल कांग्रेसका सांसद अमरेश सिंहले सरकाले सुरु गरेको तराई-मधेश समृद्धि कार्यक्रमप्रति आक्रोश पोखेका छन्।
यसको नाम बदलेर ‘नेता-कार्यकर्ता संरक्षण अभियान’ राख्नु पर्ने उनको प्रस्ताव छ।
‘यसलाई नेता कार्यकर्ता संरक्षण अभियान र सत्ता पक्षमा पनि सत्तामा रहेकाहरुको संरक्षण अभियान राखिदिम्,’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले भने, ‘छुट्याएको बजेटमध्ये उपभोक्तामा कति खर्च भयो? प्रजातन्त्रमा पारदर्शीताको कुरा पनि हुन्छ।’
सरकारले १५ असोज २०७५ मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरी मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई-मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न उक्त कार्यक्रम लागू गरेको थियो।
उक्त कार्यक्रममा भ्रष्टाचार भएको उजुरी परेपछि बुधबार समितिले यसबारेमा छलफल गरेको थियो।
सिंहले जसलाई लक्षित गरेको उसको जीवनमा कुनै पनि परिवर्तन नआएको बताए।
‘मेरो क्षेत्रमा अधिकांश गाउँ दशगजा क्षेत्रमा पर्छ जहाँ क्रोनिक पोभर्टी (अति गरिबी) छ,’ उनको भनाइ थियो, ‘मेरै गाउँमा मुसहर, डोम छन्। उनीहरुको जिन्दगीमा न बहुदलले केही परिवर्तन गर्यो, न गणतन्त्रले परिवर्तन गर्यो। न अहिलेको लुटतन्त्रले गर्यो। यो लुटतन्त्र हो। विधि मिलाएर लुट्ने तरिका यो हो।’
उनले कार्यक्रम लागू गरेको भन्दै भोट लिनेहरुको मात्रै समृद्धि भएको दाबी गरे। उनले भने, ‘कसको समृद्धि हो? अमरेश सिंहको समृद्धि हो कि मुसहरको समृद्धि हो? त्यहाँको दलित, चमारको समृद्धि हो? यो त भोट लिनेको समृद्धि हुने भयो।’
उनले भ्यूटावरमात्रै बनाएर समृद्धि नआउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यग्य गरे।
‘समृद्धि त उत्पादनले हुने हो नि,’ उनले भने, ‘एउटा भ्यू टावर बनाएर समृद्धि हुँदैन। दमकको भ्यू टावरले समृद्धि हुने भए सबैको पहिलो प्राथमिकता एउटा भ्यू टावर हुन्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।