काठमाडौं- गुरासँ लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद शेयर आजसम्म खरिद गर्नेले पाउने छन्। हकप्रद शेयर निष्काशनका लागि कम्पनीले बिहीबार बुक क्लोज गर्ने छ।
फागुन १२ गते बसेको सञ्चालक समितिले हकप्रद प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज गर्ने घोषणा गरेको थियो। कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ छ।
हकप्रद निष्काशनपछि चुक्ता पुँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि न्युनतम दुई अर्ब रुपैयाँ चुक्ता पुँजी हुनु पर्ने व्यवस्था गरेको छ। हकप्रद पछि काम चुक्ता पुँजीले पनि दुई अर्ब नपुग्ने भएकाले कम्पनीले बाँकी पुँजी बोनस शेयरबाट पुर्याउने छ।
कम्पनीले हालको चुक्ता पुँजीको १३.१० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। सतप्रतिशत हकप्रद शेयर र बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्नेछ।
तीन महिना अगाडि कम्पनीको शेयर मूल्य ३८५ रुपैयाँ थियो। शेयर बजारमा आएको सुधार सँगै १०२६ रुपैयाँसम्म पुग्यो। मंगलबार कम्पनीको शेयर मूल्य ८९५ रुपैयाँ छ। सतप्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको शेयर मूल्य घट्नेछ। साथै यहि मूल्यमा शेयर किन्नेले हकप्रद शेयर पाउने छन्। हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।