काठमाडौं-नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने लाभांसमा केही अंकुस लगाएपछि दोस्रो शेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ। मंगलबारमात्रै लघुवित्तको सूचक ६.३१ प्रतिशतले गिरावट आएको हो।
नेपाल राष्ट्र बैंकले सोमबार अर्धवार्षिक मौद्रिक समीक्षामार्फत लाभांस वितरण गर्दा लाभांसको २५ प्रतिशत रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि २५ प्रतिशतभन्दा माथि लाभांस वितरण गर्ने लघुवित्तले प्रस्तावित लाभांसको २५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो। तर अर्धवार्षिक मौद्रिक समीक्षामार्फत् २० प्रतिशतभन्दा बढी लाभांस दिने लघुवित्तले प्रस्तावित लाभांसबाटै पैसा छुट्याउनुपर्ने भएको हो।
पहिला पनि यस्तो कोषमा पैसा छुट्टाउँदै आएको हुँदा यसले खासै असर नपर्ने नेपाल लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले बताए। यसरी छुट्याइने पैंसा ग्राहकका लागि खर्च हुने र त्यहीक्रममा लघुवित्तको व्यापार थप बढ्ने जोशीको तर्क छ।
केही लघुवित्तको लाभांस दिने दरमा असर पारे पनि यसले लघुवित्त क्षेत्रमा भने राम्रो प्रभाव पार्ने उनले बताए। मंगलबार लघुवित्तको लाभांस दिने दरमा भारी गिरावट आउने विश्लेषण भएपछि दोस्रो बजारमा सम्पूर्ण लघुवित्तको शेयर मूल्य घटिरहेको छ।
ग्राहक संरक्षण गर्ने तथा सामाजिक उत्तरदायित्वका काम गर्दै गर्दा लघुवित्तकै प्रवर्द्धन हुने जोशीले बताए। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब माइक्रोफाइनान्सले नाफा जति सबै लाभांस वितरण गर्न पाउँदैनन्।
दोस्रो बजारमा ५० वटा माइक्रोफाइनान्स सूचीकृत छन्। उक्त कम्पनीको १७ अर्ब ५० करोड रुपैयाँको शेयर पुँजी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।