भद्रपुर- तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट नेता धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारिएकाे हो।
झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकाे पारिवारिक स्रोतले बताएको छ। तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ। विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए।
झापा विद्रोहपछि पक्राउ परी उनी नौ वर्ष कारागार बसेका थिए। नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।