काठमाडौं- नेपालले यहाँबाट निर्यात हुने कृषिजन्य उत्पादनको भन्सार मूल्यांकन र भन्सार राजस्वको दर घटाउन बंगलादेशसमक्ष प्रस्ताव गरेको छ।
दुई देशका भन्सारका अधिकारीहरुको छलफलमा नेपालले कृषिजन्य उत्पादनको बंगलादेशमा सहज निर्यात एवं बजारीकरणका लागि प्रस्ताव गरेको हो।
भन्सार विभागका महानिर्देशक सुमन दाहाल नेतृत्वको नेपाली टोलीले बंगलादेशको बंगलाबन्ध नाकाबाट नेपाली वस्तुको निर्यातका लागि सहजीकरण गरिदिन पनि बंगलादेशी पक्षलाई आग्रह गरेको छ।
'दुई देशबीचको छोटो दूरीमा रहेको बंगलाबन्ध नाकाबाट नेपाली वस्तु निर्यात गर्न आवश्यक सहजीकणका बंगलादेश सहमत भएको छ,' बंगलादेशमा रहेका दाहालले भने।
नेपाली धागो निर्यातको सबैभन्दा ठूलो संभावना बंगलादेशी बजार रहेको व्यवसायीहरुले बताउने गरेका छन्। तर घुमाउरो बाटो हुँदै धागो निर्यात गर्नुपर्दा लागत बढेको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएकाले बंगलाबन्ध नाकाबाट निर्यातको सुविधा पाउनुपर्ने उनीहरुले माग गर्दै आएका थिए।
भन्सार अधिकारीहरुको छलफलमा यो विषयले मुख्य प्राथमिकता पाएको थियो। 'हाम्रो मेची भन्सार र बंगलाबन्ध भन्सारको दूरी असाध्यै कम छ, त्यसो हुनाले यो बाटो हाम्रा वस्तु निर्यातका लागि सबैभन्दा सहज हुन्छ,' दाहालले भने, 'यसका लागि हामीले भारतको फूलबारी हुँदै बंगलादेशसम्म पुग्ने सहज व्यापारिक मार्ग तय गर्न उहाँहरुलाई आग्रह गरेका थियौं, हाम्रो प्रस्तावमा बंगलादेशी पक्ष सकारात्मक छ।'
दुई देशबीच भएको समझदारीअनुसार अब दुवै देशको भन्सारमा एकीकृत जाँच चौकी नर्माण गरी बैंक, क्वारेन्टाइनसहितका सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ। यी सुविधा उपलब्ध भए नेपाल र बंगलादेशबीचको व्यापार सहजीकरणमा ठूलो सफलता मिल्ने दाहालले बताए।
दुई भन्सार अधिकारीहरुको छलफलमा साफ्टा सर्टिफिकेट (वस्तुको उत्पत्तिको प्रमाणपत्र) जारी गर्ने विषयमा पनि समझदारी भएको छ। यसैगरी दुई देशबीच 'बिल अफ एक्सपोर्ट' आदान-प्रदान गर्न पनि सहमति भएको छ।
नेपाल र बंगलादेशबीच केही समययता उच्चस्तरीय राजनीतिक भ्रमण भइरहेको छ। दुई देशले व्यापार सहजीकरण र भन्सार सहजीकरणका लागि छलफल पनि तीव्र बनाएका छन्।
यसैअन्तर्गत मंगलबार दुई देशका वाणिज्य सचिवस्तरीय बैठक बस्दैछ। यसका लागि वाणिज्य सचिव डा बैकुण्ठ अर्यालसहितको नेपाली टोली बंगलादेश पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।