काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले रोक लगाउन सरकारसँग माग गरेको छ। कोरोना भाइरसबाट सतर्कता अपनाउन सरकारले ढिलाइ गरेको भन्दै आपत्ति प्रकट गरिएको छ। पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा हुनेतर्फ सरकारलाई सचेत बनाए।
कोराना भाइरसबाट बच्न १४ बुँदे अपिल गर्दै संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडान बन्द गर्न सरकारसँग आग्रह गरिएको छ। विमानस्थलमा परिक्षण प्रक्रिया फितलो देखिएकोले प्रवेशद्वारमा कठोर परिक्षण गर्न माग गरिएको छ।
स्थलमार्गबाट प्रवेश गर्नेहरुलाई कडाइ गर्न तथा स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न सुझाइएको छ। परीक्षणका लागि ‘कीट’ एप्रोन, मास्क र उपकरणहरुको अभाव हुन नदिन सरकारसँग आग्रह गरिएको छ। प्रवक्ता शर्माले संक्रमण भित्रिएर फैलिएको अवस्थामा सम्भावित खाद्यान्न संकटको परिस्थितिप्रति सरकारलाई सचेत बनाए।
दक्षिण कोरियामा कोरोना संक्रमणबाट नेपालीलाई बचाउन तथा अत्यावश्यक परे उद्धार गर्ने रणनीति तय गर्न कांग्रेसले सुझाएको छ। हामी ढुक्क छौं भन्ने प्रकृतिको हाँस्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार नदेखाउन कांग्रेसले सत्तारुढ दल नेकपालाई सचेत बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।