काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुवास बस्नेत र श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दायर गरिएको मुद्दामा उनीहरुसँग ३७ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
बस्नेतले झापामा सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस वापतको रकम बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा थप अनुसन्धानको सिलसिलामा अख्तियारले केही दिन अघि नियन्त्रणमा लिएको थियो।
बस्नेतले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको प्रमुख हुँदा झापाको गौरीगन्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सोबापत तथा थप काम दिलाउने प्रयोजनार्थ पटक पटक गरी ३७ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उक्त रकम बर्दघाट सुस्ता पूर्व नवपलपरासीस्थित श्री डिस्टीलरी प्रालिको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको थियो। इन्जिनियर बस्नेत श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्कीका आफन्त पर्ने र उनीहरूले मिलेमतोमा घुस लिने गरेको अनुसन्धानका क्रममा खुलेको हो।
कार्कीले जानीजानी घुस लिन सघाएको हुँदा अख्तियारले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।