काठमाडौं– बोक्सा–बोक्सी, दाइजो जस्ता कुरिति र एसिड प्रहारजस्ता अपराधविरुद्धमा प्रतिनिधिसभामा सांसद बिन्दा पाण्डेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन्।
देशमा यी कुरिति र अपराधका कारण धेरै महिला प्रताडित भएको भन्दै सरकारले विशेष कदम चाल्नुपर्ने सांसद पाण्डेले बताइन्। उनले यी विषयमा पुनः छलफल नगर्नुपर्ने गरी सुनुवाइ हुनेगरी छलफल हुने अपेक्षा गरिन्।
नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने र महिलाविरुद्ध हिंसा गर्न नहुने र गरे दण्डनीय हुने जस्ता प्रावधान रहे पनि यस्ता कुरिति र अपराध अन्त्य हुन नसकेको उनले बताइन्। उनले भनिन्, ‘यही सदनमा २०७५ भदौ ८ गते महिलाविरुद्ध संकल्प प्रस्ताव पारित गरिएको थियो।
हामीले सबै प्रकारका हिंसा, शोषण र विभेदविरुद्ध एक भएर लड्ने प्रतिबद्धता गरेका थियौं। पीडितको सामाजिक पुनर्स्थापना, क्षतिपूर्ति र उपचारमा ध्यान दिन एकबद्ध भएका हौं।। केही परिवर्तन त भयो तर तात्विक भिन्नता देखिएन।’ उनले पाठ्यक्रम केही विषय राखिएको र छाउगोठ अन्त्य अभियानले गति लिएको बताउँदै एकीकृत अभियानको खाँचो औंल्याइन्।
काननुले अपराधीकरण गरेपनि दाइजोका नाममा जलाउने र मारिने संख्या नघटेको उनको भनाइ थियो। राष्ट्रि मानवअधिकार आयोगको तथ्यांक अघि सार्दै उनले गतवर्ष मात्रै १३ जना महिलाले दाइजोको नाममा ज्यान गुमाउनु परेको बताइन्। उनले भनिन्, ‘यी त ज्यान गुमाउनेका कुरा भए। बाहिर नआएको र हिंसा खेपिरहेका धेरै घटना छन्।’
उनको प्रस्तावलाई सांसद नवराज सिलवाल र सरिता गिरीले समर्थन गरेका छन्। समर्थनमा बोल्दै सिलवालले महिला हिंसामा नयाँ प्रारुप देखिएको उल्लेख गरे। यस्ता हिंसा २१औं शताब्दीमा स्वीकार गर्न नसकिने भन्दै विशेष अभियान जरुरी रहेको बताए।
यसैगरी सांसद गिरीले महिलालाई बलियो बनाउन सक्दामात्रै हिंसाको अन्त्य हुने बताए। यसका लागि शिक्षामा जोड दिन उनले आग्रह गरिन्।
संसदमा दुईघन्टा यस विषयमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। अन्तर्राष्ट्रिय महिला अधिकार दिवस (मार्च ८)को सन्दर्भमा यो प्रस्तावमाथि छलफल भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।