काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो काण्डलाई छायाँमा पार्न नेपाल ट्रष्टको श्वेतपत्रमा आफ्नो नाम मुछिएको बताएका छन्। आइतबारकाे प्रतिनिधसभाकाे बैठकमा सभापति देउवाले सरकारले अडियोमाथि छानबिन गर्नुको सट्टा उल्टै ध्यान भड्काउनेतर्फ लागेको बताए।
उक्त जग्गामा आफ्नो प्रत्यक्ष संलग्नता नभएको प्रष्टिकरण दिँदै रानीतिक पूर्वाग्रहका कारण नाम जोड्ने षड्यन्त्र भएको उनले बताए। सभापति देउवाले ७० करोडको डिल भएकाे अडियो सार्वजनिक भएकाे एक हप्ता पुग्दा पनि छानबिन नहुनको नियतबारे प्रश्न गरेका छन्। उनले भने, ‘छानबिन नहुनुको नियत के हो?’
अडियोमा कति आउँछ भनेर प्रष्टै भनिएको ठाउँमा ‘हामी’ भनेको को–को हुन् खुल्नुपर्ने उनको माग छ। उक्त अडियोमाथि छानबिन नगरी प्रधानमन्त्रीले नक्कली बताएको भन्दै उनले ध्यानाकर्षण गराए। देउवाले भने, ‘त्यो अडियोको छानबिन गर्नुअघि नै अडियो नक्कली भएको बताउनुभयो। छानबिनभन्दा पहिल्यै निर्णय दिनु भयो। यसले तपाईंको विश्वसनियता कमजोर भएन?’
उनले प्राणघातक रोग कोरोना विश्वभर फैलिरहेका बेला नेपालमा जोगिन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘कोरोना ५० भन्दा बढी देशमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल पनि जोखममा रहेको बताएको छ। यस्तो अवस्थामा सरकारले आवश्यक प्रबन्ध गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।