इटहरी- इटहरीमा नेपाली सेनाको ५० शैयाको सैनिक अस्पताल उद्घाटन भएको छ। पूर्वी पृतना सैनिक मुख्यालयको १६ करोडको लागतमा बनेको अस्पताल शुक्रबार उद्घाटन भएको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको अस्पताल सेनाका सेवारत तथा अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारको लागि अस्पताल खोलिएको हो।
३० हजार वर्गमिटरको क्षेत्रफलमा बनेको यो अस्पतालमा हाल नेपाली सेनामा आवद्ध सैनिक र उनीहरुका परिवारले मात्र सेवा पाउने छन्।
सैनिक कल्याणकारी कोषको लगानीमा २०७४ कार्त्तिकबाट निर्माण सुरु गरिएको अस्पताल २०७६ मङ्सिरमा सम्पन्न भएको थियो।
अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, इण्डोस्कपि, अल्ट्रासाउन्ड, एक्स-रेलगायतका थुप्रै सेवाहरू रहनेछन्।
अस्पतालमा आइसियू युनिट, आइसोलेटेड वार्ड, बाल रोग वार्ड, पुरुष तथा महिला वार्ड, प्रसूति वार्ड, प्रसूति शल्यक्रिया कक्षदेखि विभिन्न महत्त्वपूर्ण वार्डहरू छन्।
अस्पतालमा ७७ जना मेडिकल जनशक्ति र १३ जना अनुभवी डाक्टरहरू छन्। उद्घाटन कार्यक्रममा इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले सर्वसाधारणहरुलाई समेत सेवा दिन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।