काठमाडौं- पुरुष बुद्धिचाल प्रतियोगिताहरु मात्र भइरहेको बेला काठमाडौं बुद्धिचाल संघले महिला खेलाडीहरुलाई मात्र समेटेर राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
यहि फागुनको २३ देखि २५ गतेसम्म तीन दिनसम्म हुने प्रतियोगितामा देशभरबाट १ सय भन्दा बढी महिला खेलाडीहरुको सहभागिता रहने जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराए।
प्रतियोगिताको नाम हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय प्रतियोगिता राखिएको छ। काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष अमृत चन्द्र श्रेष्ठले आफ्नो स्वर्गीय आमा हेरामायाको सम्झनामा उक्त प्रतियोगितामा सहयोग गरेको हो।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अन्तर्राष्ट्रिय महिला दिवसको दिन राखिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने– ‘महिला बुद्धिचाल नभइरहेकोले यसमा जिल्ला संघले पहल थालेको हो। अब हरेक वर्ष हामी अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर यो प्रतियोगितालाई निरन्तरता दिनेछौं।’
प्रतियोगिता स्विस प्रणालीका आधारमा हुनेछ। खेल सात चरणको हुने जनाइएको छ।
प्रतियोगितामा खेलाडीहरुलाई यु १२, यु १४ र यु १६ गरी तीनवटा इभेन्टस् हुनेछन्। जसमा समग्रमा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ८ हजार , चौथो स्थान प्राप्त गर्नेले ६ हजार तथा पाँचौ स्थानका खेलाडीले ४ हजार रुपैंया प्राप्त गर्नेछन्। प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने जनाइएको छ।
राष्ट्रिय टोलीका खेलाडी सहित महिला खेलाडीका साथै स्कुल कलेजमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरु समेतले प्रतिस्पर्धा गर्ने बताइएको छ।
सन् २००८ पछि पहिलो पटक महिला खेलाडीहरुको राष्ट्रिय प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
बुद्धिचालका नम्वर वान खेलाडी तथा हाल बुद्धिचाल संघका सदस्य तथा महिला कमिशनका प्रमुख मोनालिसा खुम्बले भनिन्– ‘नेपालमा महिला खेलाडिहरु लक्षित प्रतियोगिता थिएन। पुरुषहरुको भीडमा मात्र खेलिरहेको थियो। तर अहिले नियमित महिलाको राष्ट्रिय प्रतियोगिता हुंदैछ। यो महिला खेलाडीको लागि ठूलो प्लेटफर्म बन्ने मलाई विश्वास छ।’
उनले यो प्रतियोगितालाई नेपाल बुद्धिचाल संघको राष्ट्रिय क्यालेन्डरमा राख्नका लागि अनुरोध गर्ने पनि बताए।
नेपालमा हाल ५७ जना महिला खेलाडीहरुले अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।