डडेल्धुरा- सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने भएकी छन्।
राष्ट्रपति भण्डारीले बिहान १० बजे उग्रतारा मन्दिरमा माता भागवतीको दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले बताए। जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले भगवतीको दर्शन गर्ने भएपछि मन्दिर परिसरमा सरसफाई गरिनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहीबार बिहानैदेखि सरसफाई र सुरक्षा व्यवस्थामा प्रहरीलाई खटाइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। बैतडी, दार्चुलाका स्थानीय तहहरुले राष्ट्रपति भण्डारीको भ्रमणमा सार्वजनिक बिदा दिए पनि डडेल्धुरामा भने दिइएको छैन।
मन्दिरमा माताको दर्शन कार्यक्रम मात्रै रहेकाले सार्वजनिक बिदा नदिइएको अमरगढी नगरपालिका उपप्रमुख संगिता भण्डारीले बताइन्। राष्ट्रपति भण्डारी हेलिकाेप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि कञ्चनपुर जाने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।