काठमाडाैं- सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ।
काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनकाे दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिए। 'अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ', चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, 'सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन।'
मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए। प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा अवस्था सामान्य देखिएको छ। 'अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ,' उनले भने।
भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा बिहीबार दुर्घटनामा परेका हुन्। उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो। दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।
दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।