काठमाडौं– आफ्नो मान्छेलाई शिक्षक बनाउन प्रश्नपत्र आउट गराउँदै भ्रष्टाचार गरेको आरोप लागेका वडाअध्यक्ष धरौटीमा छुटेका छन्।
विशेष अदालतले दैलेख जिल्ला डुङ्गेश्वर गाउँपालिका–५ का वडाअध्यक्ष टेकबहादुर भण्डारीलाई धरौटीमा छाेड्न आदेश गरेकाे हाे। विशेषले वडाध्यक्षसहित ४ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माविको राहत दरबन्दीमा निमावी तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर भएको थियो।
विशेष अदालका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले उनीहरुलाई धरौटीमा छोडेको हो। अख्तियारले प्रश्नपत्र आउट गरेको आरोपमा वडाका सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाही, छनौटमा परेका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको थियो।
शिक्षक छनौटका लागि गाउँपालिकाले गत पुष २६ गते परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा वडाध्यक्ष भण्डारीको निर्देशनमा वडासदस्य शाहीले परीक्षा सञ्चालन हुनु अगावै प्रश्नपत्र परीक्षार्थी घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाइ अधिकारको दुरुपयोग गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।
वडाध्यक्ष भण्डारी र वडासदस्य शाहीको मिलेमतोमा विषयविज्ञले तयार गरेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरकुञ्जिकाको फोटो खिची शिक्षक छनौट परीक्षाको संयोजकसमेत रहेका शाहीको मोबाइलबाट घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाई आफू निकटका व्यक्तिलाई शिक्षक पदमा नियुक्त गरी गैरकानुनी लाभ पुर्याउन प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपपत्रमा उल्लेख छ।
घनश्याम भण्डारी शिक्षक छनौट भएपछि रिक्त हुने विद्यालयको सहायक लेखापाल पदमा नियुक्त गराउने वडाध्यक्ष भण्डारी र वडासदस्य शाहीको योजनामा समर्थन जनाएर शिक्षक पदमा वैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्मासमेत परीक्षा अनियमिततामा संलग्न भएको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।