काठमाडौं– गरिमा धानको बीउबाट पीडित किसानहरुलाई राहत रकम प्रदान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ३ करोड ४४ लाख रुपैयाँ माग गरेको छ। रकम मागको पत्र बिहीबार नै अर्थ मन्त्रालयमा पठाइएको कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले बताए।
‘हामीले गरिमापीडित किसानहरुका लागि ३ करोड ४४ लाख रुपैयाँ राहत रकम बिनियोजन गर्नका लागि पत्र काटेका छौँ, अर्थ मन्त्रालयमा आज पत्र गइसकेको छ’ सहसचिव केसीले नेपाल लाइभसँग भने। उनका अनुसार पीडित किसानहरुलाई केन्द्रीय सरकारले प्रतिकिसान २० प्रतिशतका दरले पुग्ने गरी राहत रकम पठाएको हो।
सो रकम केही दिनभित्रै अर्थ मन्त्रालयमार्फत स्थानीय तहमा जाने छ। र स्थानीयतहमार्फत पीडित किसानहरुले पाउने छन्। केही अपुग राहत रकम प्रदेश तथा स्थानीय सरकारले आफ्नो बजेटबाट पीडित किसानहरुलाई उपलब्ध गराउन सक्ने गरी कृषि मन्त्रालयले निर्णय गरेको छ।
के हो गरिमा धान प्रकरण?
यस वर्ष गरिमा एफ वान हाइब्रिडको नाममा लगाइएको धानको बिउ नक्कली परेपछि धानमा बाला लाग्न सकेन। गरिमा धानको बिउ हो भनि अन्य जातको कमसल धानको बिउ किसानहरुलाई उपलब्ध गराएका कारण यस्तो समस्या उत्पन्न भएको पाइएको छ।
बिउ बिक्रेताहरुबाट कमसल जातको धानको बिउ परेपछि विभिन्न जिल्लाको १७ हजार ८ सयभन्दा बढी हेक्टर जमिनको धानबालीमा ठूलो क्षति पुगेको थियो। गरिमा धान लगाएका साढे ९ हजार किसान प्रभावित भएको र २३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको सरकारी तथ्यांक छ।
२३ करोडको क्षतिमा ५ लाख जरिवाना
गरिमा प्रकरणमा दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिलाउन आवश्यक अनुसन्धान गरी टुंगो लगाउने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त जातको बिउ बिक्री वितरण गर्ने १७ वटा एग्रोभेटलाई अनुगमनपछि कारबाही तथा जरिवाना गरेको छ।
आर्थिक जरिवाना गरिएका व्यवसायिक फार्महरूमध्ये दाङको लमहिमा रहेको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ भने बाँकी १६ वटा फार्मलाई समान २ लाख रुपैयाँ जरिवाना गरिएको छ। करिब २३ करोड बराबरको क्षतिमा विभागले ५ लाखमात्रै जरिवाना गरेको हो।
गरिमा प्रकणरमा बिउ बिक्री वितरण गर्ने व्यवसायिक फार्महरुलाई कारबाही भएपनि बिउ उत्पादक भारतीय कम्पनी र उक्त बिउ नेपालमा ल्याउनका लागि स्वीकृती दिने बिउबिजन गुणस्तर केन्द्रका कर्मचारीलाई कारबाही गर्न भने सम्बन्धित निकायले उदासिनता देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।