दार्चुला- सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताएकी छन्। मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन्।
जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उनको जोड थियो। 'यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पुर्याउनुपर्छ', उनले सम्बोधनमा भनिन्, 'यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहुँच पुर्याउन सबैले हातेमालो गराैं।'
उनले यो क्षेत्रको विकासका लागि आफ्नो पदीय हिसाबले गर्नुपर्ने कामका लागि सहयोग गर्ने आश्वासन दिइन्। हेलिकोप्टरमार्फत दार्चुलाको मालिकार्जुन अवतरण भएकी राष्ट्रपति भण्डारीले मालिकार्जुन मन्दिरमा गएर पूजापाठ गरिन्।
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपति भण्डारी दार्चुलाको धार्मिक तीर्थस्थल मालिकार्जुनमा गरेको भ्रमणले स्थानीयस्तरमा खुसीयाली छाएकाे थियाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।