काठमाडौं- नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टी विघटन र विभाजनको दिशामा नजाने भएकाले निरास नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।
बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दाबी गरे।
‘तपाईहरू यहाँ आउँदा धेरै आशंका लिएर आउनुभएको होला, पत्रपत्रिकाको समाचारले दिमाग खराब भएको होला‚’ नेपालले भने‚ ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’
पार्टीभित्र सानातिना विवाद आइरहने र त्यसको समाधान पनि नेतृत्वले नै गर्ने दाबी नेपालले गरे। ‘पार्टीलाई एक बनाएर लैजाने कुरामा म र हाम्रो नेतृत्व एकजुट छ तपाईंरुले यही जोस बोकेर कार्यकर्तामा गएर काम गर्नुस्‚’ उनले भने‚ ‘पार्टीभित्र विभिन्न धारणा र विचारहरुको मतभेद हुनु सामान्य हो।’
पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताए। राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा चरम विवाद देखिएको छ।
अर्थमन्त्री युवराज खतिवडा र वामदेव गौतमको राष्ट्रिय सभामा सिफारिसको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालका बीचमा मतभेद सार्वजनिक हुदाँ पार्टी अप्ठारोमा परिहेको अवस्थामा उनको यस्तो भनाइ आएको हो।
दाहालले गौतमलाई ल्याउन चाहेर सचिवालयबाट निर्णय गरेका थिए भने प्रधानमन्त्री ओलीले खतिवडाकै निरन्तरता हुने भन्दै सिफारिस गर्न अस्वीकार गर्ने टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।