काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन्। राष्ट्रियसभाको बिहीबारकाे बैठकको विशेष समयमा बोल्दै उनले सरकार एकपछि अर्को काण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको अडियो, प्रधानमन्त्रीको जन्मोत्सवलगायत बारे कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला उनले सरकार मौन बसेकोमा आक्रोश पोखे। उनले प्रधानमन्त्री संसदबाट भागेर नभई संसदमा आएर जवाफ दिनुपर्ने बताए। उनले भने, 'प्रधानमन्त्री संसदबाट भागेर होइन। संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ।'
बाँस्कोटालाई सुपुत्र वा सो सरह व्यवहार गर्ने प्रधानमन्त्रीले उनलाई कारवाही गर्न सचिवालय बैठकमा कुरा उठ्दा बचाउ गरेको र ‘यो विषय पार्टीको एजेण्डा हुन सक्दैन’ भन्दै रोकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि शंका उब्जाएको दाबी पाण्डेकाे छ। सञ्चारमन्त्रालय अन्तर्गतका आयोजनाहरुमा अर्बाै भ्रष्टाचारको खेल भएको भन्दै उनले ७० करोड कमिसन काण्डको अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको जन्मोत्सव समारोहमा ८२ लाख खर्च भएको तथ्यांक बाहिर आएको भन्दै उनले विवादित कम्पनी यति होल्डिङस्काे हेलिकोप्टरबाट केक लगेर नेपालको नक्सालाई टुक्राटुक्रा पारी खाने कामलाई त्यहाँका जनताले के भने होलान् भनि प्रश्न गरे। 'प्रधानमन्त्रीको यो काम अग्रगामी ठान्नुभयो होला कि प्रतिगामी? यो काम गणतन्त्र अनुकुलको होला कि राजतन्त्र अनुकुलको होला? प्रधानमन्त्रीले आठराईमा देखाएको काम सर्वहारा प्रगतिशील केपी ओलीको होला कि राजा महाराजा वा महासामन्तको अवतार लिइसक्नु भएको सम्मानीय प्रधानमन्त्री केपी ओलीको होला? आज आठराईका जनताले प्रश्न गरिरहेका छन्। यो प्रश्नको जवाफ दिने काम मेरो होइन। यो प्रश्नको जवाफ दिने काम प्रधानमन्त्रीले गर्नुपर्छ। प्रधानमन्त्री संसदबाट भागेर होइन। संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ,' उनले भने।
नेकपाका सांसद खिमलाल भट्टराईले केही तथ्यांक दिँदै सरकारका कामको बचाउ गरेपछि लगत्तै बोलेका सांसद पाण्डेले मिथ्यांक नमिसाइकन चामत्कारिक काम गरेर देखाउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।