काठमाडौं–सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायित्वमाथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण गराएका हुन्।
एकाध घटनाबाहेक सरकारले आमरुपमा राम्रा काम सम्पादन गरेको भए पनि त्यसको सम्प्रेषण हुन नसकेको तथा गरीब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भए पनि केही घटनाका कारण राजनीतिक स्थायित्वमाथि प्रश्न उब्जिएको भन्दै नेताहरुलाई सचेत हुन आग्रह गरे।
‘के नेकपाका नेताहरुले आफ्नो अभिभारा बिर्सन थाल्नुभएको हो? देश र जनताको हित र स्वार्थलाई सर्वोपरी नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरी ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो? नेताज्युहरु यस्तो नहोस,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीप्रति जनताको ठूलो साथ र भरोसा छ । त्यसैले तपाईहरु सम्हालिनुहोस्। र, जनताको अभिमत,आकांक्षा र आफ्नै वाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् भन्ने मेरा आफ्नै नेताहरुलाई आग्रह र अनुरोध छ।’
उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारबाहीको बचाउ गरे । आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गरे। पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगति गरेको उल्लेख गर्दै उनले सडक, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पूर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिलोज्यानले लागि परेको दाबी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।