एजेन्सी- कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको थियो। अहिलेसम्म चीनबाहेकका ४० देशमा यसको संक्रमण देखिइसकेको छ। यसको संक्रमण यूरोप र मध्यपूर्वी देशहरूमा पनि फैलिरहेको छ।
यसरी फैलियो कोरोना भाइरस
- डिसेम्बर ८ : वुहानमा प्रथमपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि।
- डिसेम्बर ३१ : कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी।
- जनवरी १ : चिनियाँ सहरको सामुद्रिक खाना पाइने बजार बन्दको घोषणा‚ जहाँबाट भाइरस फैलिएको हुनसक्ने आशंका गरिएको छ।
- जनवरी ७ : चिनियाँ निकायहरूद्वारा उक्त भाइरस नोभल कोरोना भाइरस भएको पुष्टि।
- जनवरी ९ : प्रथमपटक कोरोना संक्रमित एक व्यक्तिको मृत्यु‚ यो घटनालाई पछि जनवरी ११ मा मात्र सार्वजनिक गरियो।
- जनवरी १३ : थाइल्याण्डमा चीनको वुहान सहरबाट आएको एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।
- जनवरी १६ : जापानमा प्रथम पटक कोरोना संक्रमित व्यक्ति भेटिएको पुष्टि।
- जनवरी २१ : अमेरिकामा पनि एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।
- जनवरी २३ : चीनका वुहान र अन्य केही सहरहरू (जो कोरोनाबाट तुलनात्मक हिसाबमा बढी प्रभावित थिए) बन्दको घोषणा। चिनियाँ नयाँ वर्ष नमनाउन सबै चिनियाँमा आग्रह। विश्व स्वास्थ्य संगठनद्वारा अझैसम्म आपतकालको घोषणा गर्ने अवस्था नआएको जानकारी प्रदान।
- जनवरी २८ : कोरोना संक्रमितको संख्या १०० बढी। सार्सबाट संक्रमित भएभन्दा ज्यादा संक्रमित भएको पुष्टि।
- जनवरी ३० : विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य आपतकालको घोषणा।
- फेब्रुअरी ४ : जापानको योकोहामा बेमा ‘दी डायमन्ड प्रिन्सेस क्रुज' जहाजलाई नै क्वारेन्टाइनमा राखियो। उक्त जहाजमा ३ हजार ७ सय बढी यात्रुहरू थिए।
- फेब्रुअरी ६ : विश्वस्तरमै ५०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु।
- फेब्रुअरी ७ : चीनमा सबैभन्दा पहिला कोरोना भाइरसका बारेमा जानकारी दिने डाक्टर लि वेनलियाङको मृत्यु‚ जसलाई सोही विषयमा अफवाह फैलाएर त्रास फैलाएको भनी स्थानीय प्रहरीले कारबाही गरेको थियो।
- फेब्रुअरी ८ : चीनस्थित अमेरिकी दूतावासद्वारा कोरोना भाइरसका कारण चीनमा अमेरिकी नागरिकको मृत्यु फ्रेब्रुअरी ६ मा भएको पुष्टि। उनी नै कोरोना भाइरसबाट मृत्यु हुने पहिला चीनबाहिरका नागरिक।
- फेब्रुअरी ११ : विश्वस्तरमै १००० भन्दा बढी कोरोना संक्रमितको मृत्यु। विश्व स्वास्थ्य संगठनले कोरोनाको औपचारिक नामाकरण – ‘कोभिड- १९’
- फेब्रुअरी १५ : यूरोपमा पनि प्रथम कोरोना संक्रमित व्यक्ति भएको पुष्टि।
- फेब्रुअरी १७ : दी डायमन्ड प्रिन्सेस जहाजबाट अमेरिकाद्वारा आफ्ना नागरिकलाई अमेरिका लगिएको।
- फेब्रुअरी २० : विश्वस्तरमै कोरोना भाइरसबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि।
- फेब्रुअरी २३ : दक्षिण कोरियाको एक चर्चबाट कोरोनाको संक्रमण फैलिई कोरियामा पनि कोरोनाले महामारीको रुप लिएको। इटालीको उत्तरी प्रान्तमा पनि एकै हप्तामा १ सय ५२ जनामा संक्रमण देखिएको पुष्टि।
- फेब्रुअरी २५ : इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९‚ इरानी स्वास्थ्य मन्त्रीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको।
- फेब्रुअरी २६ : अस्ट्रिया‚ क्रोएसिया‚ स्विजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको पुष्टि। फ्रान्समा ६० वर्षीय एक कोरोना संक्रमित व्यक्तिको मृत्यु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।