काठमाडौ– प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मामाथि प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षका सांसदहरुले प्रधानमन्त्रीको जन्म दिनको केकदेखि सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस लेनदेनमा प्रधानमन्त्री ओलीको हात रहेको भन्दै राजीनामा दिन माग गरेका छन्।
नेपाली काँग्रेसका सांसद राजन श्रेष्ठले आफ्नो विश्वासपात्र सञ्चारमन्त्री गोकुल बाँस्कोटा ७० करोडको घुस डिलमा पर्दा प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन? भन्दै यस्तो माग गरेका हुन्। सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग मागेको घुसमा प्रधानमन्त्री चोखो नहुने उनको दाबी थियो।
त्यस्तै नेपाली काँग्रेसका सांसद रामबहादुर विष्टले प्रधानमन्त्रीले घुस प्रकरणमा सदनमा जवाफ दिनुपर्ने बताए। घुस खानेको अनुहार नहेर्ने प्रधानमन्त्रीले बाँस्कोटालाई हटाएर मात्र नपुग्ने जिकीर गरे। त्यस्तै नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले जनता हुम्ला–जुम्लामा सिटामोल खान नपाएर मरेको अवस्थामा प्रधानमन्त्रीले पाँच वटा हेलिकप्टर लिएर गएको प्रति सदनमा जवाफ दिनुपर्ने बताइन्।
जनतालाई सिटामोल उपलब्ध गराउनु पर्ने प्रधानमन्त्री राजशीशैलीमा जन्मदिन मनाउनु गलत भएको उनको टिप्पणी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।