धनगढी– राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि बैतडी र दार्चुलाका स्थानीय निकायले सार्वजनिक बिदा दिएका छन्।
धनगढीमा आयोजना हुन लागेको नेपाली साहित्य महोत्सवको उद्घाटनका लागि सुदूरपश्चिम आएकी राष्ट्रपति भण्डारीले फागुन १५ गते बिहान दार्चुलाकोस्थित मलिकार्जुनको दर्शन, ११ बजे मलिकार्जुन माविको निरीक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन र ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ।
सोही अवसरमा बैतडीको पाटन नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका हुन्। पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगर कार्यपालिकाको बैठकबाट राष्ट्रपति भण्डारीको भ्रमणमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले पनि राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
राष्ट्रपतिले बुधबार साहित्य महोत्सव उद्घाटन पछि धनगढीस्थित शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने जनाइएको छ।
यस्तै, १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम छ। राष्ट्रपति १७ गते फर्किने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।