काठमाडौं- नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।
पार्टी सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।
उनलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा लैजान लागिएको हो। राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।
यसअघि रिक्त अन्य पदको चुनावमा पनि गौतमलाई उम्मेदवार बनाउने प्रयास भएको थियो। तर, गौतमले अनिच्छा देखाएका कारण उनी उम्मेदवार बनेका थिएनन्। उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गर्दै आएका थिए।
त्यसो त, प्रतिनिधिसभा सदस्य बन्ने उनको लामो प्रयास थियो। ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा पराजित भए पनि कोही विजयी उम्मेदवारलाई फिर्ता गराएर आफू जाने प्रयास गरेका थिए। तर, त्यो प्रयास सफल नभएपछि उनी राष्ट्रिय सभा सदस्य बन्न लागेको हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।