नयाँ दिल्ली- भारतको नयाँ दिल्लीमा नागरिकता कानुनको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित १३ जनाकाे मृत्यु भएकाे छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण हुनुभन्दा केही घण्टाअघिदेखि विवादास्पद बनेको नागरिकता कानुनको विरोधमा दिल्लीमा व्यापक प्रदर्शन भएकाे हाे। गत वर्ष उक्त कानुन पारित भएपछि सो विषयलाई लिएर सरकार विरोधी विभिन्न प्रदर्शनहरु हुँदै आएका छन्। उक्त कानुनले भारतमा रहेका करीब २० करोड मुस्लिमलाई निशाना बनाउने विश्लेषणहरू आइरहेका छन्।
मंगलबार मौजपुर, भजनपुरा, ब्रह्मापुरी र गोकलपुरी क्षेत्रमा झडप भएकाे थियाे। जाफराबाद र मौजपुर क्षेत्रमा हिंसात्मक झडप भएपछि प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मीलाई गोली हान्न आदेश दिइएकाे थियाे।
स्थिति तनावग्रस्त बनेपछि दिल्लीका चार क्षेत्रमा कर्फ्यू लगाइएकाे छ। दिल्ली प्रहरीका कमिश्नर अमुल्य पटनायकले उत्तर पूर्वी दिल्लीमा ४ ठाउँमा कर्फ्यू लगाइएको बताए। मौजपुर र जाफराबाद, चन्दबाग र करावलनगरमा कर्फ्यू लगाइएकाे हाे। हिंसा प्रभावित क्षेत्रहरूमा धारा १४४ लागू गरिएको छ।
मंगलबार साँझ भएकाे पत्रकार सम्मेलनमा दिल्ली प्रहरीका प्रवक्ता एमएस रंधावाले ड्रोनबाट पनि निगरानी गरिरहेकाे बताए। उनले उत्तर पूर्वी दिल्लीका मानिसहरूलाई अपील गर्दै कसैले पनि कानून हातमा लिन नहुने बताए। उनले अफवाहहरूलाई बेवास्ता गर्न आग्रह गरे।
यसैबीच, गृहमन्त्री अमित शाहले तेस्रो पटक सुरक्षा निकाय र गृह मन्त्रालयका अधिकारीहरूसँग दिल्लीको अवस्थाबारे छलफल गरेका छन्। मंगलबार राति करिब ३ घण्टा चलेको बैठकमा दिल्ली पुलिसका नवनियुक्त विशेष आयुक्त एस.एन. श्रीवास्तव पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।