काठमाडौं- मेलम्ची नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरुका अनुगमन तीव्र पारेको छ।
नगरपालिकाका रामबहादुर लामाको संयोजकत्वमा रहेको अनुगमन टोलीमा नेपाल प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरिक्षक, उपभोक्ता हक/हित संरक्षण मञ्चका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, रेडियो मेलम्चीका प्रतिनिधि थिए।
नगरपालिका र नागरिक समाज र उपभोक्ताहरुको संयुक्त टोलीले नगरको ६ स्थानमा मंगलबार बजार अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताए।
औषधी, खाद्य र अन्य उपभोग्य वस्तुहरुको म्याद र त्यसको प्रयोग अवधिबारेमा अनुगमन गरिएको उनले बताए।
अनुगमनमा करिब ५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु फेला परेको थियो। मिति सकिएका औषधि र खाद्यवस्तु अनुगमनमा देखिएपछि नगरले जफत गरेर नष्ट गरेको छ।

नागरिकको अत्यावश्यक औषधि पनि मिति गुज्रेको बिक्री हुने गरेको गुनासो आइरहेको समयमा नगरले अनुगमन गरेको हो। बजार अनुगमन निरन्तर हुने कोइरालले बताए।
मूल्य भएका मात्र र म्याद भएका खाद्यवस्तुको मात्र बिक्री गर्न उपभोक्तामाथि ठगी नगर्न नगरपालिकाले सचेत गराएको छ।

अनुगमन टोलीले मेलम्ची बजारस्थित एक पसलमा बिक्रीका लागि राखिएको ठूलो परिमाण म्याद गुज्रेको खाद्य सामग्री नियन्त्रणमा लिएको छ।
अन्यमा केही सामान्य मात्रामा म्याद गुज्रिएका खाद्य वस्तु फेला पारिएको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।