काठमाडौं- सत्तारुढ दलका सांसद शेरबहादुर तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् बनाउने संविधान संशोधनको आह्वान गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै संविधान निर्माणका क्रममा शासकीय स्वरुपका विषयमा चुकेको बताउँदै संविधान संशोधन गर्नुपर्ने माग गरेका हुन्।
आफूले पहिले पनि यस विषयमा आवाज उठाइसकेको तर अहिले आएर त्यसो गर्नु सान्दर्भिक देखिएको उनको भनाइ छ।
‘हामी शासकीय स्वरुपमा चुकेका हौं। राष्ट्रपति शासन प्रणाली बहस गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीमा जानुपर्छ,’ उनले भने।
उनले संसद एक सदनात्मक हुनुपर्ने माग गरेका छन्।
१५१ जना पूर्ण समानुपातिक प्रणालीबाट सांसद छानिनुपर्ने उनको भनाइ छ।
यसैगरी प्रदेशको व्यवस्थाभित्र संरचना घटाएर समन्वयकारी निकायमा परिणत गर्नुपर्ने उनको धारणा छ।
स्थानीय तह पनि ७ सय ५३ बाट घटाएर ३ सय ५० को हाराहारीमा बनाउनुपर्ने उनको धारणा छ।
काठमाडौंका लागि उपत्यका विकास प्राधिकरण बनाएर प्रत्यक्ष निर्वाचन गराउने व्यवस्था गरिनुपर्ने बताएका छन्।
‘त्यसो गर्दा साधारण खर्च घट्छ र विकासमा धेरै खर्च गर्न सकिन्छ,’ उनले भने।
वर्तमान शासकीय स्वरुपमा निर्वाचन महंगो हुँदै गएकाले नेताहरु जनताप्रति नभई निर्वाचन खर्चप्रति उत्तरदायी बन्नुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘निर्वाचन प्रणाली अस्वस्थ हुँदै गएको छ। अहिले बढ्दै गएको भ्रष्टाचार यसैको परिणाम हो। ढिला नगरी शासकीय स्वरुप परिवर्तन गरी एक भएर बढ्नुपर्ने देखिएको छ। ’
उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदका लागि जुट्न सांसदलाई सार्वजनिक आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।