एजेन्सी– नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन्।
इरानले कोरोनाका कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ।
इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गरेका हुन्।
उनले अरु ४७ जनामा पनि यसको संक्रमण देखिएको जानकारी दिएको इरानी समाचार संस्थाले जनाएको छ।
उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दाबी पनि गरेका छन्। तर आम नागरिकले सतर्कता नअप्नाएकाले फैलिने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।
सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन्।
यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि यस महामारी प्रवेश गरेको छ। अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीहरुको भनाइ छ।
उनीहरुले सोमबार नै पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का संक्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।