नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद समाप्त पार्न पाकिस्तानलाई दबाब दिएको बताएका छन्। भारतको दुई दिने भ्रमणको पहिलो दिन सोमबार गुजरातको अहमदाबादको मोटेरा रंगशालामा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘नमस्ते ट्रम्प’ नाम दिइएको उक्त सभामा ट्रम्पले सम्बोधनका क्रममा पाकिस्तानलाई दबाब दिएको भनिरहँदा लामो समयसम्म दर्शकको ताली बजेको थियो। ट्रम्पले सीमापार आतंकवाद समाप्त पार्न पनि पाकिस्तानलाई दबाब दिएको उल्लेख गरे।
उनले आफ्नो मुलुकले इस्लामिक आतंकवाद समाप्त पार्नका लागि काम गरिरहेको भन्दै आइएसलाई समाप्त पारेको र अमेरिकी सीमा आतंकका लागि सधैं बन्द रहने उद्घोष पनि गरे। यसैका लागि अमेरिकाको प्रवेश विन्दुमा कडा नियम लागू गरेको उनको भनाइ थियो। ‘अमेरिकामा जो आतंक फैलाउने उद्देश्यले आउनेछ, उसले ठूलो मूल्य चुकाउनुपर्नेछ,’ उनले भने।
सम्बोधनका क्रममा ट्रम्पले भारत अमेरिकाको सबैभन्दा ठूलो ‘डिफेन्स पार्टनर’ रहेको भन्दै ३ अर्ब डलरको हेलिकोप्टर भारतीय सेनालाई दिन लागेको बताए। उनले दुवै देश एकसाथ भारतीय–प्रशान्त क्षेत्रको सम्प्रभुता कायम राख्नका लागि काम गर्ने उल्लेख गरे।
ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार बढाउनेबारेमा छलफल गर्ने भन्दै आफूहरु व्यापार सम्झौताको सुरुवाती छलफलका क्रममा रहेको पनि बताए। उनले द्विपक्षीय कारोबार ४० प्रतिशत बढेको र भारत अमेरिकाका लागि सबैभन्दा ठूलो निर्यात बजार रहेको पनि बताए। उनले भारत र अमेरिका अन्तरिक्षको क्षेत्रमा पनि सहकार्य गरिरहेको बताए।
सभालाई सम्बोधन गर्ने क्रममा माेदी-ट्रम्प दुवैले एकअर्काको प्रशंसामा नै अधिक समय व्यतित गरे।
दुवैले यो क्षण आफ्नो जीवनको अविस्मरणीय र ऐतिहासिक भएको बताए। ट्रम्पले भारतीय सेनालाई मजबुत बनाउन आफू तयार रहेको भन्दै भारत र अमेरिकाले एडभान्स डिफेन्स सिस्टममाथि निरन्तर काम गरिरहेको बताए। आफ्नो सम्बन्ध पाकिस्तानसँग पनि उत्तिकै राम्रो भएको बताए।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले दुवै देशको सहकार्यद्वारा विश्वले नयाँ दिशा पाउने विश्वास व्यक्त गरे। भारत र अमेरिका तटस्थ सहयात्री भएको उनले बताए।
राष्ट्रपति ट्रम्पले विवेकानन्द‚ महात्मा गान्धी‚ सरदार बल्लभभाइ पटेलको स्मरण गर्दै भारतप्रति आफ्नो विशेष चासो रहेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।