काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई अन्य प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध नगर्न सुझाएका छन्। संसद अवरुद्ध हुँदा राष्ट्रिय मुद्धा ओझेल परेको गुनासोपछि कांग्रेस संसद अवरुद्ध नगर्न सहमत भएको हो।
प्रतिपक्षी ३ दलको सोमबार बसेको बैठकले साझा मुद्धामा एकै स्वर बनाएर संसदमा प्रस्तुत हुने सहमति बनेको छ। राष्ट्रिय मुद्धामा सहकार्य गर्ने गरि तीन दलबीच मौखिक सहमतिसमेत बनेको छ। प्रतिपक्ष दलहरु एकै ठाउँमा रहेर सरकारलाई दबाब सिर्जना गर्न कांग्रेससहित राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सोमबार बैठक गरेका हुन्।
संसदीय प्रणालीलाई कमजोर बनाउन नेकपाको सरकार लागिरहेको छ। संसदमा उत्पति हुने कतिपय विषयलाई आफ्नोमात्रै मुद्धा बनाएको छ,’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘राष्ट्रिय मुद्धाहरुलाई साझा मुद्धा बनाउनका लागि सरकारबाहिर रहेका दलहरु एकै स्थानमा आएका हौं।’
कांग्रेसको पहलमा भएको बैठकमा संसद अवरुद्ध नगर्न सुझाएको राजपाका संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘जनताको आवाज पनि संसदमा उठ्नुपर्छ। संसदमा अवरोध भए संसदको विजनेस ऐन कानुनसमेत पारित हुँदैन,’ उनले भने, ‘मुद्धा हेरेर एक ठाँउमा हुन सकिन्छ।’
तीन दलको बैठकले मोर्चाबन्दी नगरे पनि साझा मुद्धामा एक स्थानमा उभिने निर्णय गरेका छन्। संसदमा प्रतिपक्षीय भूमिका बढाउन बैठक गरिएको कांग्रेसले जनाएको छ।
मुद्धाका आधारमा भविष्यमा समेत सरकारविरुद्ध एकीकृत आवाज बनाउने सहमति बनेको छ।
राष्ट्रिय जनता पार्टीको संसदीय कार्यालयमा बसेको बैठकमा राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, कांग्रेसका भुसाल, समाजवादीका उमाशंकर अरगरिया लगायतका नेता थिए।
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन ‘डिल’को अडियो बाहिरिएपछि कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ माग गरिरहेको छ।
प्रधानमन्त्रीले जवाफ नदिए पनि संसद अवरुद्ध नगर्ने कांग्रेसले जनाएको छ। भुसालले भनिन्,‘हामीले जवाफ माग गर्छौं। सबै दलले ध्यानाकर्षण गराउँछौं। प्रधानमन्त्रीको समेत प्रश्न उठेपछि जवाफ दिनुपर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।