काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिने भ्रमणका क्रममा नयाँ रणनीतिक ‘ब्लु डट नेटवर्क’ मा छलफल गर्ने भएका छन्।
ट्रम्प दुई दिने पहिलो औपचारिक भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन्। यसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई रोक्न ‘ब्लु डट नेटवर्क’ अघि सारिएको भारतीय अंग्रेजी अखबार ‘दि इन्डियन एक्सप्रेस’ले उल्लेख गरेको छ।
‘यो अमेरिकाको ‘इन्डो प्यासेफिक स्ट्राटेजी’को एक हिस्सा हो जसको उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी बिआरआईलाई काउन्टर गर्ने हो,’ उक्त अखबारमा लेखिएको छ, ‘दुई दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच छलफल हुने अपेक्षा गरिएको छ।’
ट्रम्पको भ्रमणका बेला छलफल गर्न उक्त प्रस्तावमाथि भारतीय र अमेरिकी अधिकारीहरुबीच विगत केही हप्ता कार्यगत तहमै छलफल हुने बताइको छ।
‘इन्डो प्यासेफि स्ट्राटेजी’को एक हिस्सा स्वरुप भारतले यसमा सक्रिय भूमिका खेलोस् भन्ने अमेरिकाले चाहेको अखबारले उल्लेख गरेको छ।
के हो ‘ब्लु डट नेटवर्क’ ?
यो सन् २०१९ मा अमेरिकाले अघि सारेको एक विकास रणनीति हो। अमेरिका, अष्ट्रेलिया र जापानले सन् २०१९ को ४ नोभेम्बरमा थाइल्याण्डको बैंङ्ककमा आयोजित ‘इन्डो प्यासेफिक बिजनेस फोरम’मा यसको घोषणा गरेका थिए।
यो जी-२० र जी-७ को सिद्धान्तअनुसार भएको अमेरिकाको दाबी छ।

‘प्रमाणित ‘ब्लु डट नेटवर्क’ गुणस्तरीय पूर्वाधार लगानीका लागि जी-२० को सिद्धान्त, विकासका र ‘इक्वेटोर प्रिन्सिपल’का लागि जी-७ को सिद्धान्तमा आधारित छ,’ अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा यसबारे भनिएको छ, ‘यसको उद्देश्य खुला तथा समावेशी, पारदर्शी,आर्थिक रुपमा व्यवहारिक, आर्थिक, समाजिक र वातावरणीय रुपले टिकाउ र अन्तर्राष्ट्रिय कानुन तथा नियममा आधारित गुणस्तरीय पूर्वाधार लगानी बढाउनु हो।’
जापान, अष्ट्रेलिया र भारत विवादित ‘इन्डो प्यासेफिक स्ट्राटेजी’का साझेदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।