काठमाडौं– विभिन्न विवादास्पद प्रकरणहरु सतहमा आइरहेकै बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा अहिले छलफल भइरहेको छ।
दुई अध्यक्षहरु मात्र सहभागी सो छलफलमा पार्टीभित्र देखिएका अन्तरसंघर्षका आयामहरुबारे चर्चा–परिचर्चा हुने बालुवाटार स्रोतले जनाएको छ। ‘खासगरी प्रधानमन्त्री ओलीलाई दलभित्रबाटै असहयोग बढ्दै गइरहेपछि दुई अध्यक्षले वन टू वन वार्ता चाहनुभएको हो’, प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘यस्तै विरोधभाषबाट बाहिर निस्कन पनि यस्तो छलफल अगाडि बढाइएको जस्तो लाग्छ।’
महरा प्रकरण, गोकुल बाँस्कोटा प्रकरणसँगै प्रतिनिधिसभामा पराजित नेता वामदेव गौतमलाई उपल्लो सदनमा ल्याउने र संविधान संशाेधन गरेर प्रधानमन्त्री बनाउन सकिने भन्दै गरिएको तयारीबारे अहिले विवाद भइरहेको छ।
दुई अध्यक्षहरुको छलफललाई प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे। उनले भने, ‘समसामयीक विषयमा दुई अध्यक्षहरु छलफलमा जुट्नुभएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।