काठमाडाैं- काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
ललितपुरको बालकुमारीमा मोटरसाइकल सडक किनारको रेलिङमा साेमबार बिहान करिब सवा ४ बजे ठोक्किँदा २ जनाको मृत्यु भएको छ। काठमाडौंको लाजिम्पाट बस्ने ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राईको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल आकाशेपुल नजिकैको रेलिङमा ठोक्किएको थियो।
यसैगरी, भक्तपुर नगरपालिका–९ च्यामासिंहमा आइतबार साँझ बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१० कमलविनायकका ११ वर्षीय तिलक मकाजुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंको पुरानो बसपार्कमा बा ७५ प २२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गोदावरी नगरपालिका–५ लेलेका ४२ वर्षीय श्रवण तामाङ गम्भीर घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।