एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साेमबार भारत आउँदै छन्। उनी भारतीय समयअनुसार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्ने छन्।
ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरिसकेका छन्। ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन्।
राष्ट्रपति ट्रम्पको साथमा उनकी पत्नी मेलानिया, छोरी इवान्का र ज्वाईं जेराड कुशनर पनि छन्। ट्रम्प अहमदाबादबाट उत्तर प्रदेशको आग्रा जानेछन् र ताजमहलकाे अवलाेकन गर्ने छन्। उनी सोमबार साँझ दिल्ली पुग्नेछन्।
भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको प्रतिक्रिया दिएका छन्। उनले भारत भ्रमण गर्न पाउँदा आफू अत्यन्तै खुसी र उत्साहित भएको बताए। भारतका लाखौं जनतालाई भेट्न आँतुर भएको पनि उनले बताए।
यसैगरी राष्ट्रपति ट्रम्पकी छोरी इवान्का ट्रम्पले पनि भारतको भ्रमण सुरु गर्नु अघि भारतीय प्रधानमन्त्री मोदीसँग खिचिएको तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।