काठमाडौं- वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक सहमतिसँगै सो सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न गृहकार्य सुरु भएको छ।
शनिबार अपराह्न बसेको नेकपा सचिवालय बैठकले माधव नेपालको नेतृत्वमा तीन सदस्यीय संविधान संशोधन अध्ययन कार्यदल गठन गरेको हो। कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको एक सचिवालय सदस्यले नेपाल लाइभलाई बताए।
कार्यदल गठनको प्रस्ताव प्रचण्डले लगेका र ओलीले समर्थन र विरोध दुवै नगरेको बताइएको छ।
गत पुस अन्तिम हप्ता गौतम निवास भैंसेपाटीमा प्रचण्डको नेतृत्वमा सचिवालयका बहुमत सदस्यहरुको गठबन्धनले संविधान संशोधन गर्ने विषयमा पनि सहमति गरेको थियो। सोही अनुसारको प्रस्ताव अघि बढेको हो।
शनिबार पनि सचिवालय बैठकअघि भैंसेपाटीमा २ घण्टासम्म केही नेताको गोप्य बैठक बसेको नेकपा एक उच्च तहका नेताको दाबी छ। त्यसैको प्रभाव सचिवालय बैठकमा परेको हुनसक्ने उनको विश्लेषण छ।
वामदेवले अघिल्लो वर्ष प्रतिनिधिसभा सदस्य बन्न प्रयास गरेका थिए। तर, ओलीले चाहना नदेखाएपछि दुई नेताको सम्बन्ध बिग्रिएको थियो। ओलीले सम्बन्ध सुधार गर्ने रणनीतिको रुपमा गौतमलाई सांसद बनाउन चाहेका थिए। कास्की २ मा भएको उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउन चाहेका थिए। तर, गौतमले मानेका थिएनन्। त्यसपछि भने राष्ट्रियसभा सदस्य बनाउने चर्चा चलेको थियो।
अघिल्लो महिना राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा पार्टीमा गौतमलाई पनि उम्मेदवार बन्न प्रस्ताव आएको थियो। तर, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने सर्तमा मात्रै आफू सो सभाको सदस्य बन्ने उनले अडान राखेका थिए। सोही कारण उनी उम्मेदवार बनेका थिएनन्।
युवराज खतिवडाको स्थानमा गौतमलाई सिफारिस गर्न नेकपाभित्र सहमति जुटेसँगै नेकपाले उनैका निम्ति संविधान संशोधनको उपाय खोजी गरेको हो।
हालको संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन्। उनीहरु बढीमा मन्त्री बन्न पाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।