नेपाली कांग्रेसमा आबद्ध स्थानीय नेता-कार्यकर्ताको आक्रोश किन? पुर्खाले देखाएको बाटोमा कांग्रेस नहिँडेकैले।
तल्लो तहमा कांग्रेसका कार्यकर्ताले राखेका चिन्ताहरु पटक-पटक केन्द्रीय समिति र केन्द्रीय नेताहरुसँगका बैठकमा नराखेका होइनौं। खासगरी कांग्रेस कमजोर भयो भन्ने कार्यकर्ताको चिन्ता छ।
संसदमा कांग्रेसको उपस्थिति कमजोर छ। संख्या कमजोर भए पनि मतमा कांग्रेस कमजोर छैन। तर पनि प्रतिपक्षीय भूमिका कांग्रेसले खेल्न सकेको छैन। कारण के हो? हरेक पार्टीमा विचारका आधारमा गुट–उपगुट हुन्छ। लोकतान्त्रिक पार्टीमा विचारका आधारमा गुट हुने विषयलाई हामीले स्वीकारौं। लोकतान्त्रिक पार्टीको चरित्रलाई स्वीकारिएन भने हामी अप्ठेरोमा पर्छौं। गुट–उपगुट हुनु विचारका लागि हो। पार्टीभित्र फरक धारणाहरु हुन सक्छन्। विचारमा छलफल हुन्छ, छलफलका लागि पनि गुट बन्न सक्छन्।
एउटा सानो उदाहरण स्मरण गराउँछु विचारका लागि गुट बन्ने आधार बारे। बिपी कोइराला प्रवासमा भएको बेलाको सन्दर्भ हो। सशस्त्र क्रान्ति गर्ने निर्णय भयो। प्लेन हाइज्याकिङ पनि भयो, त्यसबाट पैसा पनि आयो। हतियार किनियो। भलै हामी सफल हुन सकेनौं। २००७ सालकै क्रान्तिजस्तै गर्नुपर्छ भन्ने सोचले अघि बढिएको थियो। त्यसैबेला सुवर्णशमसेरले बिपीलाई भन्नुभयो– भारत र राजासँग हामीले मिलेर जानुपर्छ। विचारको राजनीतिमा फरक आयो नि त। फस्टम्यान र सेकेण्डम्यानको विचारको लाइन त फरक आयो। किसुनजी त्यसबेला नख्खु जेलमा हुनुहन्थ्यो। दुबै लाइनभन्दा फरक उहाँको विचार थियो। जेलमै बसेर सत्याग्रह गर्ने उहाँको विचार थियो। अहिले कांग्रेसमा भइरहेको विचारको लडाइँ होइन।
भागबण्डाले गर्दा कांग्रेसमा समस्या आएको हो। भागबण्डाले गर्दा गुट जन्मियो। भागबण्डाले गर्दा राम्रो व्यक्ति भित्तामा पुग्ने परिस्थिति बन्छ। सोच फरक राख्ने, विचार फरक राख्नेलाई भित्तामा पुर्याइन्छ। म कुनै गुटमा छैन। फुर्सद भएको बेला आफ्ना कुरा राख्न बोलाएको बैठकमा जान्छु।
नेविसंघको विधानमा स्पष्ट जे लेखेको छ, त्यसकै आधारमा तदर्थ समिति गठन हुनुपर्ने मेरो मान्यता हो। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गुटलाई भनें। तर भयो के? नौं जना महामन्त्री बनाइयो? त्यो कस्तो नेविसंघ होला अब? ५० वर्षको व्यक्ति जसले नेविसंघ चिन्ने उमेर गइसक्यो। उनलाई अध्यक्ष बनाइएको छ। विद्यार्थीको राजनीति गर्ने समय नेविसंघका अध्यक्षको सकिसकेको छ। यस्तो अवस्थामा नेविसंघ कसरी अघि बढ्छ? उमेर हद लागू नहुने विषयको विरोध गर्नु भनेको पार्टी सभापतिको विरोध होइन।
संस्थापन पक्ष अहिले ४७ विभाग बनाउन लागेको छ। विधानमा २८ विभागको व्यवस्था छ। महाधिवेशन सकिएको दुई महिनाभित्र गठन हुनुपर्ने विभाग १४ औं महाधिवेशनको मिति तय भइसकेपछि बनाउन लागिएको छ। अब विभाग गठन गर्नु भनेको महाधिवेशन गर्ने नगर्ने भन्ने हो। फागुन सात गतेपछि त हामी थप समयमा चलिरहेका छौं। हामी चारवर्ष पछि ग्रेस पिरियडमा चलिरहेका छौं। अहिले आएर विभाग बनाउनु, त्योभन्दा गलत काम केही हुन्छ? यसको विरोध गर्दा सभापतिको विरोध हुन्न। विधिसम्मत पार्टी सञ्चालन हुनुपर्छ। क्षमतावानलाई स्थान दिऔं, खटेकालाई नेता कार्यकर्ताको उचित मूल्याकंन गर भन्नु सभापतिको विरोध होइन।
कार्यकर्तालाई एउटा विश्वास दिलाउन चाहन्छु। धेरै कार्यकर्ता अन्यायमा परेका छन्। देशैभरका कार्यकर्तालाई कुनै किसिमको अन्याय हुन म दिन्नँ आफ्नै भोटरलाई क्रियाशील बनाउने प्रचलनले चुनाव कसरी पारदर्शी हुन्छ? हाम्रो दुःखदायी कुरा नै भोटरलाई क्रियाशील सदस्य बनाएका छौं। कार्यकर्तालाई अनुरोध छ- माथिको इशारामा नहिड्नुस्। ‘कसैको इशारामा नहिड’–बिपी पनि भन्ने गर्नुहुन्थ्यो। द्विविधा भए एक मुठी माटो हातमा लिएर सही निर्णय लिन भन्नुहुन्थ्यो। त्यस्तै निर्णय कांग्रेसका कार्यकताले गर्नसक्नुपर्छ। निर्णय गर्ने बेला आफ्नै विवेक प्रयोग नगरेर माथिल्लो तह हुँदै केन्द्रसम्म सोध्ने परम्परा छ। विवेक आफ्नो प्रयोग नगर्ने तर परिणाम सही खोजेर कहाँ हुन्छ?




हाम्रो भूमिका संसद र सडकमा कमजोर भएको छ। कमजोर हुनुको कारण छ। राजनीतिक संस्कार हामीमा कमि हुँदै गएको छ। राजनीति गर्ने व्यक्तिमा नैतिकता चाहिन्छ। पूर्वजहरुले संस्कार नैतिकताको पाठ पढाएर जानुभएको थियो। अहिले त्यो नैतिकता र संस्कारमा र्हास भएको छ। नैतिकताको बलमा कांग्रेसले राजनीति गर्दै आएको हो, नैतिकता कायम राख्न नसके कांग्रेस अझै कमजोर हुँदै जान्छ। राणा शासनविरुद्ध, पञ्चायत र राजाका विरुद्धमा नैतिकताकै आधारमा कांग्रेस लडेको हो। कांग्रेसको नैतिक त्यो धरातल खस्किएको छ।
कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ।
वर्तमान सरकारले लोकतन्त्र मास्ने प्रयास गरिरहेको छ। लोकतन्त्र छ कि छैन भन्ने अवस्था आएको छ। लोकतन्त्रका सिद्धान्तमा राज्यले कब्जा गर्न लागेको छ। प्रेस स्वतन्तत्रा अब समाप्त भइसकेको छ। अभिव्यक्ति स्वतन्त्रता समाप्त भइसकेको छ। सबैभन्दा खतरा त न्यायपालिका कमजोर बनाइएको छ। न्यायपालिकालाई सरकारको विभागजस्तै बनाइएको छ। अख्तियार सरकारको मतियार भएको छ।
संवैधानिक निकायहरु सबै सरकारका कब्जामा ल्याइएको छ। प्रधानमन्त्रीलाई नीतिगत निर्णय भनि बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति दिइयो।। सोही मन्त्रिपरिषदका मन्त्रीलाई मुद्धा चलाइएको छ। सम्पति शुद्धीकरणले सबैलाई त्रसित बनाइएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेसमा खरिद प्रक्रियामा भएको कमिसन ‘डिल’ त्योभन्दा बढी रकमको छ। यो अर्बौंको खेल हो। सरकारले भ्रष्टचारलाई ढाकछोप गर्दैछ।
संघीयता संकटमा छ। वर्तमान सरकार संघीयता चाहदैन। किन? कम्युनिस्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्छन्। कम्युनिस्ट शासन भएका मुलुकका जस्तै संघीयता हामीले स्वीकार्न सक्दैनौं। संघीयता कार्यान्वयन नगर्न सरकार अग्रसर छ। प्रदेशका निर्णयमा समेत केन्द्रले हस्तक्षेप गरेको छ। प्रदेशको अधिकार नै छैन। जिल्लाको सिडिओ केन्द्रले नियुक्त गरेपछि प्रदेश सरकारको भूमिका के हुने? संघीयता छँदैछैन भने पनि हुन्छ। प्राकृतिक स्रोत र वित्त आयोग एक व्यक्तिको भरमा चलेको छ।
विकास खर्च छ महिनामा १५ प्रतिशतमात्रै भएको छ। प्रदेश सरकारको त झनै दर्दनाक अवस्था छ। प्रदेश सरकारले विकास खर्च ९ प्रतिशत गरेको छ। देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ।
केपी ओलीको राष्ट्रवादमा जनता भूलभुलैयामा परे। कस्तो राष्ट्रवाद रहेछ, अहिले देखिएको छ। ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद हो।
देश अति संवेदशील अवस्थामा छ। एकातिर चीनको बीआरआइ र अर्कोतिर अमेरिकाको एमसिसी। यी दुईको चेपुवामा हामी परेका छौं। कहीँ विश्वको रणनीतिक चलखेलमा त हामी पर्दैनौं?
यस्तो संवेदशील समयमा कांग्रेस अति संयमित भई अघि बढ्नुपर्ने अवस्था छ। तर,यो समयमा कार्यकर्ताको सही मुल्यांकन हुने देखिँदैन। १४ औं महाधिवेशनले नेतृत्व परिवर्तन गर्दछ।
(कांग्रेस नेता कोइरालाले नेपालगञ्जमा कार्यकर्तालाई गरेको सम्वोधनको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।