काठमाडौं– गत शुक्रबार हलमा रिलिज भएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ले मिश्रित प्रतिकृया पाइरहेका छन्।
दुवै फिल्म सामाजिक विषयमा बनेको हो। 'आमा' ले पारिवारिक कथा बोकेको छ भने ‘सेन्टी भाइरस’ राजनीतिक विषयवस्तुमा हास्यरस मिसाएर प्रस्तुत गरिएको छ।
आमाको कन्टेन्ट बलियो रहेको भन्दै समीक्षा आइरहेका छन्। तर ‘सेन्टी भाइरस’ कमजोर रहेको भन्दै आलोचना भइरहेको छ।
फिल्म कमजोर रहेको प्रतिकृया आए पनि व्यापारमा भने ‘सेन्टी भाइरस’ ‘आमा’ भन्दा अगाडि देखिएको छ।
यी दुवै फिल्मबारे आएका समीक्षा :
आमा
फिल्मले पारिवारिक सम्बन्धहरुको चिरफार गर्दै आमाबाबुहरु प्रति छोरा–छोरीको कर्तव्यमाथि बहस प्रारम्भ गरेको छ। यसका अलावा फिल्ममा चित्रित धर्म प्रचारकदेखि वैदेशिक रोजगारीको विषय तथा अस्पतालहरुको व्यापारमुखी उपचारको कथा समयसापेक्ष लाग्छ। पैसा कमाउने उद्धेश्य राखेर फिल्मले सस्तो कमेडीको बल्छी थापेको छैन। यही गुणले पनि ‘आमा’ अन्य फिल्म भन्दा फरक श्रेणीमा छ ।
मेरोफिल्मडटकम
चरित्र चित्रण, द्वन्द्व र अभिनयको हिसाबले आमा समकालीन नेपाली फिल्मको उपलब्धि हो। साहित्यलाई प्रविधिसँग एडप्ट गर्न सके, त्यसको प्रतिफल कस्तो होला ? प्रयुक्त वर्गाकार छायांकन (स्क्वायर सिनेमटोग्राफी) र त्यसको दृश्य मनोविज्ञान आमाको अर्को विशेषता हो। पात्र मनोविज्ञान निर्माण गर्न यस्तो खाले छायांकनले भूमिका खेलेको छ । फिल्मसँग लोकेसनको खास अर्थ छैन जति पात्र र कथाले मनलाई बाँध्न सकून्। कथाले बाँध्न सक्यो भने तपाइँ कोठाभित्रै फिल्म बनाउन सक्नुहुन्छ। अस्पतालभित्रै फिल्म बोक्नु निर्देशकीय खुबी अवश्य हो।
मुभीमाण्डुडटकम
चलचित्र भन्नेबित्तिकै स्टारडम भन्ने धङधङीबाट ग्रसीत नेपाली चलचित्रका मेकरभन्दा माथि उठेर निर्देशक दीपेन्द्र के खनालले अब्बल चलचित्र बनाउने जोखिम उठाएका छन् । यो विशुद्ध भुइँ मान्छेको कथा हो जसलाई सानो क्यानभासमा निर्देशकले कथाको वहाबलाई बगाएका छन्। चलचित्रको बलियो पक्ष भनेको पटकथा नै हो अधिकांस दर्शकलाई ट्रेलरबाट नै कथाको छनक आँकलन गर्न गाह्रो हुँदैन तर पटकथाकारको संरचनाले गर्दा दर्शकलाई बाँधिरहेको अनुभूति हुन्छ ।
सेतोपर्दाडटकम
सेन्टी भाइरस
२ घण्टाको फिल्मले दर्शक होल्ड गराउन सक्दैन। फिल्म हेरिरहँदा लाग्छ पति पत्नीकै झगडामात्र छ फिल्ममा। निर्देशक गुरुङ निर्देशनमै चिप्लिएका छन्। कतै पनि उनको निर्देशकीय कला झल्किन्न। फिल्मको क्लाइमेक्स निकै कमजोर छ।
ईकान्तिपुरडटकम
चुनावी मादकता र त्यसको दृश्य-अदृश्य खेलमाथि बनिने कथामा न ताजापन छ, न चमत्कृत बनाउने सामर्थ्य . सुकुम्बासी बस्तीको बासी मुद्दाले पर्दामा कम्पन पैदा गर्दैन। त्यसो त कथा नवीन र गहन हुँदैमा चलचित्र गतिलो बन्छ भन्ने होइन। उक्त कथालाई कति सुरुचीपूर्ण र विश्वसनीय रुपमा पेश गरिन्छ भन्ने कुराले अर्थ राख्छ । बोक्रे कथा अनि आलाकाँचो प्रस्तुतिले कहीँकतै दर्शकको भाव-आवेगसँग अन्तक्रिया गर्दैन ।
अनलाइनखवरडटकम
चलचित्रलाई सिर्जनशील सिर्जना मान्ने हो भने चलचित्र सेन्टी भाईरसमा खासै नयाँपन केही देखिँदैन। उही पुरानै खालको घुमाइ फिराइको कहानीमा पात्रहरुको अदलबदल जस्तै लाग्छ । जसको प्रमाण हो बुद्धि तामाङले धेरै पटक चलचित्र र सिरियलमा दोहाेर्याएकाे हैट पात्र, कबड्डी कबड्डी चलचित्रमा झण्डा समाएर जड्याहाको भूमिकामा देखिने कमलमणी नेपालको पात्र, म्याकुरी उपनाममा म्याकुरी थेगो दोहोर्याउने पात्रबाटै प्रष्ट हुन्छन् कि चलचित्र पुरानै कथा र पात्रहरुको घिसीपिटी नै हो ।
सेतोपर्दाडटकम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।