काठमाडौं– सरकारले विभिन्न कसुरका आरोपीलाई समेत विदेश प्रस्थानमा रोक लगाउन सक्ने कानुन ल्याउन लागेको छ। अध्यागमन ऐन २०४९ लाई विस्थापित गर्न ल्याउन लागिएको ‘अध्यागमन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको छ।
गृह मन्त्रालयले राष्ट्रियसभामा केही दिनअघि दर्ता गरेको विधेयकमा अनुसन्धान गर्न ‘अधिकार प्राप्त अधिकारीले’ विदेश प्रस्थान गर्न लेखी पठाएमा विदेश यात्रा रोक्न सकिने व्यवस्था गरिएको छ। रोक लगाउन सकिने कसुरहरुमा कर, राजस्व, बैकिङ कारोबार वा त्यस्तै किसिमका अन्य आर्थिक वा वित्तीय विषय सम्बन्धी कसुरमा अनुन्धान भइरहेकाहरुलाई विदेश भ्रमणमा रोक लगाउने सकिने प्रावधान राखिएको छ।
यसैगरी मानव बेचविखन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अपहरण, लागुऔषध कारोबार, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोगमा अनुसन्धान भइरहेकाहरुलाई विदेश जान रोक्न सकिने छ। कुनै कसुर नगरेको तर राज्यले खतरा महसुस गरेमा समेत नेपाली नागरिकले विदेश जाने पाउने छैन। ती नागरिकबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभावपर्ने पर्याप्त र विश्वसनीय आधार भएमा सरकारले विदेश जान रोक्न सक्ने विधेयकमा उल्लेख छ।
यी बाहेक कुनै अदालतले विदेश प्रस्थान गर्न रोक लगाउने गरी आदेश गरेकामा पनि गृह मन्त्रालयले रोक्न सक्नेछ। यसैगरी नेपाल सरकार वादी भइ मुद्दा चल्ने कुनै फाैजदारी कसुर गरेको व्यक्ति वा कुनै कसुरमा प्रचलित कानुनबमोजिम कुनै कारागार वा हिरासतमा रही त्यस्तो कारगार वा हिरासतबाट भागेको व्यक्ति विदेश प्रस्थान गर्न लागेको भए रोक्न सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।