काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले अनुशन्धान गर्ने बताएका छन्।
शनिबार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि बिना ग्लोबल टेन्डर नगरी कुनै कम्पनीसँग सम्झौता गरेर जाने विषय र मन्त्रीले कमिसन डिल गरेको अडियो बाहिरिनुले प्रश्न उठेको बताएका हुन्। 'यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेकाले समितिको प्रतिवेदनअनुसार हुन्छ,' उनले भने, 'मन्त्रीले भ्रष्टाचार गरे/नगरेको कानुनी छानबिन गर्न सरकार दृढ भएकाले अख्तियारले छानबन गर्छ।'
नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका शर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताए। सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिएपनि पार्टीको निर्णय नै अन्तिम हुने उनको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको अध्याय सुरु भएको उल्लेख गरेका थिए। सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्री मात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानबिन हुनुपर्ने उनको भनाइ थियो।
उनले वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसिसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने बताएका थिए। त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबैतहमा भ्रष्टचारलाई विकेन्द्रीकरण गरेको बताएका अध्यक्ष लोहनीले धर्मनिरपेक्षताको नाममा नेपालको संस्कृतिमाथि हमला हुँदासमेत सरकारले चासो नदिएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।